इटहरी/ सुपरहिट फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि अहिले फिल्म ‘महाजात्रा’ निर्माण भएको छ । छायांकन सकिएको केही दिन नबित्दै फिल्म निर्माण युनिटले फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा जनवरी १ मा सार्वजनिक गरिएको पोस्टरमा वरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य बन्धक बनेका छन् । पोस्टरमा देखिएका अन्य पात्रहरु रविन्द्रशिह बानियाँ, रविन्द्र झा र विपिन कार्किले आचार्यलाई बन्धक बनाउछन् भन्ने प्रष्ट बुझ्न सकिन्छ ।
यस्तै सार्वजनिक पोस्टरमा पैसा छरपस्ट बनाईएको छ । यसर्थ जात्रा र जात्रै जात्रा झै यो शृङ्खलामा पनि पैसाकै खेलको वरिपरि कथा घुमेको छ भनेर आंकलन गर्न सकिन्छ । यसअघि जात्राको दोश्रो शृङ्खला जात्रैजात्रालाई हरिबंश आचार्यको उपस्थितिमा निर्माण घोषणा गरिएको थियो भने तेस्रो श्रृङखला ‘महाजात्रा’ मा उनि प्रमुख भुमिकामा देखिएका छन् । सार्वजनिक पोस्टरमा उनलाई व्हिलचेयरमा हातखुट्टा बाँधेर राखिएको छ । त्यसैले पनि उनको भुमिकालाई लिएर कौतुहलता बढेको छ ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘महाजात्रा’लाई प्रदिप भट्टराईले लेखेका हुन् भने फिल्ममा उनकै निर्देशन रहेको छ । उनी नेपाली फिल्म उधोगमा सफल निर्देशक मध्ये अग्रपंक्तिमा गनिन्छन् । आगामी चैतको ९ गते नेपालसहित विश्वव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म महाजात्राको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन् । फिल्ममा अभिनेत्री वर्षा राउतको पनि प्रमुख भुमिकामा अभिनय रहेको छ । सार्वजनिक पोस्टरमा उनको नाम देखिएपनी बर्षालाई फिचर्ड भने गरिएको छैन् ।
Discussion about this post