इटहरी/ देशभक्ति भावले ओतप्रोत फिल्म ‘काँडेतार’को शनिवार इटहरीमा विशेष च्यारिटी शो सम्पन्न भएको छ । नेपाल र भारत बिचको बर्षौदेखी उठिरहेको सिमा विवादलाई मुल मुद्धा बनाएर निर्माण भएको यो फिल्म हेर्न इटहरीका समाजसेवी, व्यापारीक घरानाका मलिक, राजनैतिक ब्याक्तित्व, सन्चारकर्मी, चलचित्रकर्मी सहित इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलको पनि उपस्थिति रहेको थियो । नगरप्रमुख पौडेलले फिल्म हेरेपछि संक्षिप्त प्रतिक्रियामा फिल्म राम्रो बनेको र संबेदनसिल मुद्दामा फिल्मले खबरदारी गरेको बताए ।
हल बाहिर फिल्म युनिटले सिमानामा काँडेतार नामक अभियानमा हस्ताक्षर समेत गराईरहेको थियो । नगरप्रमुख पौडेलले सो सिमानामा काँडेतार लगाउने अभियानमा हस्ताक्षर समेत गरेका थिए । संकलन गरिएको उक्त हस्ताक्षर प्रधानमन्त्री समक्ष बुझाईने निर्माण युनिटको तयारी रहेको छ । इटहरीस्थित इलाईट सिनेमा हलमा शनिबार यो फिल्मको ३ ओटा विषेश च्यारिटी शो गरिएको थियो ।
उक्त ३ ओटै शोमा दर्शकको राम्रो उपस्थिति रहेको र प्रतिक्रिया पनि सकारात्मक पाएको फिल्मका निर्देशक तथा कलाकार नवल खड्काले बताए । इटहरीमा काँडेतारको पहिलो शो ११ बजे, दोश्रो शो १ बजे र तेश्रो शो ३ बजे राखिएको थियो । इटहरीको विशेष च्यारिटी शोबाट उठेको रकमलाई सिमा रक्षा गर्नलाई खटिएका पहरेदारहरुलाई हस्तान्तरण गर्ने निर्देशक खड्काले जानकारी गराए । यसअघि उनले यो फिल्मलाई देशभर ६० भन्दा बढी विशेष च्यारिटी शो सम्पन्न गरिसकेका छन् । अधिकांश ठाउँमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको उनको भनाई छ ।
यो फिल्म काँडेतारमा निर्देशक नवलका अलावा गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, प्रेम कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । सामन फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको काँडेतारलाई शिवम अधिकारी र नवल खड्काको लेखन रहेको छ भने निर्मातामा सत्यकला राई, माकिको राई र अन्जु केसी रहेकी छन् । यो फिल्म आउँदो फागुनको २५ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ ।
Discussion about this post