इटहरी/चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी यतिबेला फेरि विवादमा परेका छन् । केहि समय अगाडी चलचित्रसम्बन्धी विधेयकका कारण विवादमा परेका के.सी. अहिले चलचित्र विकास बोर्डबाट आफूहरूले ७५ लाख रुपैयाँसम्मको फिल्म बनाउन पाउने निर्णय गरेपछि फेरी विवादमा परेका हुन् ।
चलचित्र विकास बोर्डको संस्थापक अध्यक्ष यादब खरेल,निर्माता संघका अध्यक्ष नवल खड्का, पूर्वअध्यक्ष कृष्ण मल्लदेखि विभिन्न सिनेकर्मीले बोर्डका अध्यक्षसहितको पदाधिकारीलाई यो निर्णयको पूर्णविरोध गर्दै यसलाई रोक्न र चलचित्रसम्बन्धी ऐन पढेर काम गर्न सुझाव दिएका छन् । नीतिनिर्माण गरेर फिल्म क्षेत्रका समस्या समाधान गर्न भूमिका खेल्नुपर्ने बोर्ड आफैं फिल्म निर्माण गर्नु कानुनविपरीत भएको उनीहरूको भनाइ छ ।
बोर्डका निर्णयअनुसार बोर्डले अब आफैंले ७५ लाख रुपैयाँ छुट्याएर सिनेमा बनाउने तयारी गर्दै छ । नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाजले यो निर्णय कानुनविपरीत भएको भन्दै निर्णयविरुद्ध विरोध गर्दैअदालतमा रिट हाल्ने तयारी गर्दै छन् । यो निर्णयको विरोध गर्दै निर्देशक मनोज पण्डितले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चलचित्रमैत्री नीति बनाएर संसदबाट पारित गरी लागू गर । प्रशासनिक सहजीकरण गरि देऊ । नयाँ र प्रयोगधर्मी सिनेकर्मीलाई उत्प्रेरणा देऊ तर आफैं सिनेमा बनाउँछु भन्ने निर्णय नगर ।’
Discussion about this post