इटहरी/ अभिनेता दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा र अभिनेत्री मिरुना मगर लगायतको अभिनय रहने फिल्म ‘रङेली’ शुभ मुहर्त सम्पन्न भएको छ । आज सोमबार मोरङमा अवस्थित रङेलीमा रहेको काली मन्दिरमा स्कृप्ट तथा क्यामेरा पुजा गर्दै शुभ मुहर्त भएको हो । फिल्मको शुभ मुहर्त भएसंगै भोलि २६ गतेबाट फिल्मको छायांकन सुनसरीको इटहरीबाट सुरु हुने निर्देशक अर्जुन सुवेदीले बताए । इटहरीबाट सुरुहुने छायांकन रङ्गेली, कर्सिया, कटहरी, बिराटनगर र बिर्तामोड हुँदै सकिनेछ । यी मध्ये कथाले मागेको मुख्य ठाउँ रङ्गेली, कटहरी र कर्सिया भएको कारण प्रायः छायांकन सेड्युल यहि ठाउँमा रहेको निर्देशक सुवेदीले जानकारी गराए ।
शुभ मुहर्तका बेला मुख्य कलाकारहरूको भने उपस्थिति देखिएन । अभिनेत्री मिरुना २९ गतेबाट रिलिज हुने फिल्म नाङ्गो गाउँको प्रचारप्रसारमा ब्यस्त र दयाहाङ टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागी हुन देश बाहिर रहेका कारण शुभ मुहुर्तमा उपस्थित हुन नसकेको बताईएको छ । यसकारण दयाको १४ दिनपछि, मिरुनाको ३/४ दिनपछी छायांकन सेड्युल राखिएको छ । यद्यपि अर्पण थापा भने भोलि छायांकनका लागी रङ्गेली आइपुग्ने र पर्सीबाट उनको छायांकन सुरु हुने निर्देशकको भनाई छ । ३५ दिनको छायांकन सेड्युल रहेको ‘रङेली’लाई प्लानेट थ्री फिल्मस् एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण गरिने छ ।
अर्जुन सुवेदीले निर्देशन गर्ने फिल्म रङेलीको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ हुन् । युवक कार्की र शिव थपलिया सह-निर्माताको रुपमा रहेका छन् । बिबेक खड्का एशोसियट निर्माता रहेको रङेलीलाई सुशन प्रजापतिले छायाङ्कन गर्दैछन् । यो फिल्म युनिटले केहीअगाडि एउटा गीतको केही भागमा विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’ को लाईभ अर्केस्ट्रा समावेश गरेको छ । यो कार्य लाइभ एट प्रजेन्ट एलसिसि संगको सहकार्यमा नेपालमा पहिलो पटक यसरी गीत तयार हुँदैछ ।
सो गीतमा सुशान्त गौतमको संगीत रहने छ भने रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । नेपाली फिल्मको गीत पहिलो पटक युरोप पठाईएसंगै अब ‘रङेली’ फिल्मको माध्यमबाट पश्चिमा संगीतको स्वाद लिन पाईने भएको छ । उक्त गीतमा हर्क साउदको शब्द समावेश गरिएको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर सुन्न सकिनेछ । ग्याङस्टारको कथामा बन्ने फिल्म आगामी महाशिवरात्रीको अवसर पारेर फागुन २५ गतेदेखी देशव्यापी प्रदर्शनमा आउँदै छ ।
Discussion about this post