इटहरी/ विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले निर्माण गरिरहेको बहुप्रतीक्षित फिल्म ‘तेन्जिङ’ को नेपालमा भएको छायाङ्कन सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुर, मुस्ताङ, तनहुँ र सोलुखुम्बुका मनमोहक स्थलहरूमा करिब एक महिनासम्म चलेको सुटिङ कार्य अहिले टुंगिएको छ। यो फिल्म सगरमाथाका प्रथम सफल आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित छ।
फिल्मको मुख्य आकर्षणमध्ये एक नेपाली अभिनेत्री थिन्ले ल्हामो हुन्, जसले सगरमाथा आरोहणका अगुवा तेन्जिङ नोर्गे शेर्पाकी जीवनसंगीनी दावा को सशक्त भूमिका निभाएकी छन्। नेपाली सिनेमामा ‘नाका’ बाट डेब्यु गरेकी ल्हामोले भर्खरै आफ्नो फिल्म ‘शाम्बाला’ मार्फत बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत उपस्थिति जनाइन्, जसपश्चात उनको अन्तर्राष्ट्रिय ख्याति अझ फराकिलो भएको छ।फिल्म ‘तेन्जिङ’ मा तेन्जिङ नोर्गेको भूमिका चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गेले निभाएका छन्। यो प्रतिष्ठित प्रोजेक्टको छायाङ्कनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट औपचारिक अनुमति लिइएको थियो।
निर्माण टिमका अनुसार, नेपालमा भएको सुटिङमा मात्रै अनुमानित १५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। फिल्मको नेपाली छायाङ्कनको व्यवस्थापन भारतीय प्रोडक्सन हाउस आईटप ले गरेको हो।छायाङ्कन टोलीमा ३०० भन्दा बढी भारतीय प्राविधिक सहभागी थिए, भने नेपाली र स्थानीय कलाकारहरूलाई पनि यस प्रोजेक्टमा जोडिएको थियो। यसले स्थानीय पर्यटन प्रवर्द्धनसँगै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जनामा समेत महत्त्वपूर्ण योगदान पुर्याएको बताइएको छ।फिल्म ‘तेन्जिङ’को निर्माण सी-स फिल्म्स ले गरिरहेको छ। यही कम्पनीले अस्कर अवार्ड विजेता फिल्म ‘द किङ्स स्पिच’ जस्ता उत्कृष्ट फिल्महरू पनि निर्माण गरिसकेको छ।
निर्देशनको जिम्मा यसअघि ‘शेर्पा’ र ‘माउन्टेन’ जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरिसकेकी जेनिफर पिडम ले लिएकी छन्। नेपालमा भएको छायाङ्कनको समन्वय होल्डिलेस आउटडोर, फिल्म डेस्टिनेसन नेपाल र फिल्म क्रु ले गरेका थिए। उत्पादन व्यवस्थापनमा भारतबाट राकेश र प्रवेश साहनी थिए भने नेपालबाट राजेन्द्र घिमिरे र भुवन भारती जिम्मेवार थिए। निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली ले यस प्रोजेक्टमा कन्सल्टेन्टको भूमिका निभाए।

विलियम डफोई र टम हिडल्स्टन जस्ता हलिउडका चर्चित स्टारहरूको सहभागिताले यो फिल्मलाई विश्वभर ध्यान तान्ने अपेक्षा गरिएको छ। सगरमाथा विजयका नायक तेन्जिङ नोर्गेको प्रेरणादायी जीवनकथामा आधारित यो फिल्मले विश्वभरका दर्शकलाई आकर्षित गर्ने निश्चित छ।
@parikalanewsofficial












Discussion about this post