इटहरी/ ‘बले’ नामले परिचित चर्चित हास्य कलाकार तथा मोडल सागर लम्सालले विवाह गरेका छन् । स्याङ्जा निवासी सागरले झापा निवासी स्नेहा दङ्गालसँग आइतबार विवाह गरेका हुन् । चाबहिलमा रहेको एक पार्टी भेन्युबाट सीमित साथीभाइ र परिवारका सदस्यहरूको उपस्थितिमा उनले विवाह गरेका हुन् । स्नेहा पेसाले स्टाफ नर्स हुन् । झापा दमककी स्नेहा भक्तपुरस्थित मामाघरमा बस्दै आएकी थिइन् ।
सागरले एकदमै हतारमा विवाहको निर्णय गरेको उनका साथी कलाकार हरिस निरौला ‘कक्रोज’ले बताए । उनका अनुसार यो मागी विवाह हो । ‘केही समयअघि चिनजान र विवाहको कुरा चलेको हो । यहीबिचमा प्रेम भएको होला तर, यो विवाहलाई मागी विवाह नै भन्नुपर्छ,’ विवाह स्थलबाट निरौलाले बताए ।
विवाहमा दुई परिवार बाहेक सागरले अभिनय गरिरहेको टेलि शृङ्खला ‘सक्कीगोनी’का सहकर्मीहरू अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’ र हरिस मात्र सहभागी छन् । हरिसले आफूलाई पनि शनिवार बेलुका अबेर मात्र विवाहबारे जानकारी दिएको बताए ।
Discussion about this post