इटहरी/इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । अडिसन राउण्डदेखि नै सबको मन जितेकी उनले सुरुमै गोल्डेन माइक समेत जितेकी थिइन् । नेपाली गायिका पौडेलले यतिबेला इण्डियन आइडलको अन्तिम १५ मा प्रतिस्पर्धा गरिरहेकी छन् । यसै बीच शनिबार बेलुका उनको प्रस्तुतिमा उपस्थिति चर्चित बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् ।
पछिल्लो एपिसोडमा मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘जख्म’को गीत ‘गली मे आज चाँद निस्का’ गीतले जज र दर्शकलाई मन्त्रमुग्ध तुल्याएकी थिइन् ।महेशका लागि यो गीत र फिल्म किन पनि विशेष छ भने यो फिल्म महेशकी आमा सिरिन मोहम्मद अलीको जीवनमा आधारित छ । फिल्ममा महेशकै छोरी पूजा भट्टले आमाको भूमिका निर्वाह गरेकी छन् ।
प्रस्तुतिपछि भावविह्वल देखिएका महेशले स्टेजमा पुगेर मेनुकालाई अँगालो हाले र टाउकोमा चुम्बन पनि गरे । मेनुकाको प्रस्तुतिको प्रशंसा गर्दै भट्टले भनेका छन् । ‘मेरो जिन्दगीको आफ्नो कथा यसमा कैद छ । यस फिल्ममा त्यो हिन्दुस्तान चित्रण गरेका छौं, जसले मिलिजुली बस्नुपर्छ भन्ने कुराको सेलिब्रेसन गर्छ । आज मलाई बिस्वाश भएको छ संसार हेर्ने आँखा एउटा हृदयभित्र पनि हुन्छ छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन’ ।
जज श्रेया घोषालले मेनुकाले गाएको गीतको अन्तरालमा गहिराइ रहेको बताइन् । मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरु श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिए ।
Discussion about this post