इटहरी/ नेपाली फिल्म क्षेत्रमा महिला सशक्तिकरण र प्राविधिक नेतृत्वको उत्कृष्ट उदाहरण बन्न लागेको फिल्म ‘एक मुठ्ठी बादल’ले आफ्नो सांगीतिक कोसेली सार्वजनिक गरेको छ । साहारा शर्माको डेब्यु निर्देशन रहेको यस फिल्मको ‘पल्लो घर’ बोलको नयाँ गीत शुक्रबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई केन्द्रमा राखिएको छ ।
घरमा विवाहको तयारीको चटारो चलिरहँदा माइतीघरसँग जोडिएका पुराना सम्झना र एक युवतीको मनमा उब्जिने अनेकौँ भावनालाई भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । श्रेया राईको सुमधुर स्वर, शब्द र संगीतले सजिएको यस गीतले अडियो र भिडियो दुवैतर्फबाट दर्शकलाई भावुक बनाउँछ ।

लगभग सम्पूर्ण विधामा महिलाहरूको बलियो उपस्थिति र नेतृत्व रहेको यो फिल्म आफैंमा विशेष छ । फिल्ममा आँचल शर्माका अलावा निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी जस्ता कलाकारहरूको अभिनय रहेको छ । फिल्मको प्रमुख सहायक निर्देशकको जिम्मेवारी मर्णा जेम्सले सम्हालेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले साथ दिएका छन् । हेर्नुस् भिडियो ।
फिल्मको छायांकन लिन्ह डान गुयेन फानले, प्रडक्सन डिजाइन यशस्वी सभरवालले, सम्पादन गौरव मल्लिकले, कला निर्देशन अग्रणी ठकुरी झाले, भेषभूषा डिजाइन जानकी कडायतले र मेकअप कीर्ति जोशीले गरेका छन् । गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको यस फिल्मको निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् । यस फिल्मलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्ने जिम्मा लिएको छ ।
@parikalanewsofficial

















Discussion about this post