इटहरी/ फिल्म ‘एक्टरः टेक वान’का प्रमुख अभिनेता राज बल्लभ कोइराला र अभिनेत्री दिव्या रायमाझीको जन्मदिनको अवसरमा दुबैको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार कोइरालाको जन्मदिनको अवसरमा फिल्म युनिटले उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ भने शनिबार फिल्मकी प्रमुख अभिनेत्री दिब्या रायमाझीको जन्मदिनको अवसरमा उनको लुक्स सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा कोइरालालाई गम्भीर र गहिरो भावमा देखाइएको छ, जहाँ उनी चुरोट धुँवा उडाउदै नायक प्रदीप खड्काको तस्वीरतर्फ घोरिएका छन् । झुस्स दार्ही जुँगा पालेका उनी छेउमा अर्को पोस्टर पनि देखिन्छ, तर त्यो पोस्टरमा के छ भन्ने प्रष्ट देखिदैन । राज बल्लभले लामो समयपछि अभिनयमा कमब्याक गर्दैछन् । उनको कमब्याकलाई निकै चासोको रुपमा हेरिएको छ ।
यसैगरी, शनिबार दिव्या रायमाझीको जन्मदिनको अवसरमा पनि उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । दिव्यालाई भने सिम्पल लुक्समा प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा उनी कार भित्र बसेर गालामा हात लगाएर प्रेमिल भावमा हेरिरहेको देख्न सकिन्छ । यो फिल्म ‘एक्टर: टेक वान’ मार्फत रायमाझीले डेब्यु गर्दैछिन् । उनको भूमिकाले दर्शकहरूलाई कस्तो छाप छोड्ने हो, त्यो हेर्न बाँकी छ । तर, अभिनेता दिलिप रायमाझीको छोरी भएकै कारण पनि उनको डेब्युको चर्चा भने निकै चुलिएको छ ।
एक्टरका पोस्टर डिजाईनर ट्राइडेन कन्सेप्टका रोयल भिमसेन हुन् भने फिल्मका निर्देशक राजन भुसाल हुन् । थमन कुमार भण्डारी यसका निर्माता रहेका छन् भने अनिस भुसाल सहायक निर्माताको रुपमा रहेका छन् । मोति कार्की क्रीयटिभ प्रोड्युसर हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । फिल्ममा दिब्या र राज बल्लभका अलावा प्रदीप खड्का, आना शर्मा र सुशील सिटौलाको समेत प्रमुख भुमिकामा अभिनय रहेको छ ।
प्रदिपको यसअघि नै क्यारेक्टर पोस्टर सार्वजनिक भैसकेको छ । उनको ५ अवतारसहितको क्यारेक्टर पोस्टरले फिल्मको हाईपलाई निकै उठाएको छ । खड्काले आना र दिब्यासंग पहिलो पटक एकसाथ फिल्ममा काम गर्दैछन् । ‘एक्टरः टेक वान’ आगामी कात्तिक १५ गते लक्ष्मी पूजाको दिन प्रदर्शनमा आउने तयारीमा छ । सोही अनुरुप फिल्मको प्रचारप्रसार अनुरुप क्यारेक्टर पोस्टर सार्वजनिक भैरहेको छ । यसअघि अभिनेता दिब्य देवको पनि जन्मदिनको अवसरमा क्यारेक्टर पोस्टर सार्वजनिक भएको थियो । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।
Discussion about this post