इटहरी/ नेपाली फिल्म क्षेत्रमा सामान्य प्रेमकथाहरू प्रशस्तै बनिरहेको बेला दर्शकलाई नितान्त फरक स्वाद चखाउन एउटा ‘सुपर नेचुरल लभस्टोरी’ अर्थात् अलौकिक प्रेमकथा भित्रिने भएको छ । समाजमा देखिँदै र भोगिँदै आएका यथार्थभन्दा परको कथा बोकेको नयाँ नेपाली फिल्म ‘तरङ्ग’ ले आफ्नो फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसारको औपचारिक थालनी गरेको छ ।
यसै फिल्ममार्फत प्रदीपकुमार चौधरीले निर्देशकका रूपमा नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । निर्माण कम्पनी देवदत क्रियसनले आइतबार सार्वजनिक गरेको फस्टलुक पोस्टरमा फिल्मका प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसीलाई प्रस्तुत गरिएको छ । उत्सव पाण्डेले डिजाइन गरेको उक्त पोस्टरमा यी दुई पात्रबीचको गहिरो तर मौन प्रेमभावलाई निकै कलात्मक शैलीमा उतारिएको छ ।
वरुण र रविनाको मुख्य भूमिका रहेको यस फिल्मकामा अन्य थुप्रै परिचित र नयाँ अनुहारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी को प्रमुख भूमिकामा देख्न सकिन्छ ।
@parikalanewsofficial
निर्देशक चौधरी स्वयंको कथा रहेको यस फिल्मकालाई देवदत क्रियसन र एवी फिल्मीले सहकार्य गर्दै निर्माण गरेका हुन् । फिल्मलाई उत्कृष्ट बनाउन प्राविधिकतर्फ बलियो टोली खटिएको छ । फिल्मको निर्माताको रुपमा तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी रहेका छन् भने कार्यकारी निर्माता हरिनारायण चौधरी हुन् । छायांकन महेश पौडेल, सम्पादन, सन्देश शाह, द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको फिल्ममा संगीत मनोज थापा मगर, पवन गिरी र मनोज महतोको रहेको छ ।
दर्शकलाई भिजुअल मार्फत पनि नयाँपन दिन फिल्मको छायांकन देशका विभिन्न रमणीय स्थानहरूमा गरिएको छ । मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीका सुन्दर दृश्यहरू फिल्ममा कैद गरिएका छन् । निर्माण टोलीका अनुसार फिल्मको आधिकारिक प्रदर्शन मिति भने अहिलेसम्म तय भइसकेको छैन । यद्यपि, निर्देशक चौधरीले यसै साताभित्र रिलिज मिति घोषणा गरेर टोली व्यापक प्रचारप्रसारमा जुट्ने जानकारी दिएका छन् ।














Discussion about this post