इटहरी/ चर्चित हास्य अभिनेता सागर लम्साल क्षेत्री ‘बले’ माथि एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकी छन् । उनले सामाजिक सञ्जालमा एक भावनात्मक र लामो स्ट्याटस सार्वजनिक गर्दै करिब एक वर्षअघि अमेरिकामा लम्सालले आफूमाथि यौन शोषण गरेको दाबी गरेकी हुन् । उनका अनुसार यो घटना करिब एक वर्ष अगाडिको हो, जतिबेला उनी अमेरिकामा थिइन् ।
त्यस समय उनी चरम डिप्रेसन र एन्जाइटीसँग जुधिरहेकी थिइन् र मानसिक स्वास्थ्य अवस्था बिग्रिएका कारण अस्पतालबाट भर्खरै डिस्चार्ज भएकी थिइन् । सोही कठिन समयमा नेपालबाट अमेरिका पुगेका पारिवारिक परिचित व्यक्तिहरूसँग भेट गर्दा छोरीलाई एक्लोपन कम होला भन्ने बुबाको सल्लाहमा उनले लम्सालसँग भेट गरेकी थिइन् । १० वर्षभन्दा अघिदेखि चिनेको र ‘दाइ’ मान्दै आएको व्यक्तिलाई विश्वास गरेर उनले आफ्नो अपार्टमेन्ट देखाउन लगेको उल्लेख गरेकी छन् ।
आफ्नो अपार्टमेन्टमा मानसिक स्वास्थ्यको सङ्घर्षबारे रुँदै पीडा पोखिरहेको अवस्थामा लम्सालले उनीमाथि बलात्कार गरेको गम्भीर आरोप उनको छ । उनले लेखेकी छन्, “जसलाई मैले दाइ मान्थेँ र मेरो पूरै परिवारले परिवार मान्थ्यो, त्यो मान्छे त एउटा राक्षस रहेछ । ममाथि बलात्कार भयो ।” घटनापछि आफ्नो बाँकी रहेको सम्पूर्ण हिम्मत टुटेको र परिवार बर्बाद हुने डरले आफू लामो समयसम्म मौन बसेको उनले खुलाएकी छन् ।
शारीरिक तथा मानसिक रूपमा थकित अवस्थामा आफूले न्यायको लागि लड्ने हिम्मतसमेत जुटाउन नसकेको उनको भनाइ छ । बुबा र परिवारसँग माफी माग्दै उनले यो घटनाले आफूलाई ‘जिउँदो लास’ बनाएको भन्दै भावुक अभिव्यक्ति दिएकी छन् । उनले लेखेकी छन्, “हजुर (बुबा) सँगै भएको भए हजुरको अँगालोमा रुन्थेँ होला, त्यतिखेरै लड्थेँ होला । तर धेरै टाढा थिएँ, सास फेर्न त गाह्रो हुने अवस्थामा म आफ्नो लागि कसरी लड्थेँ होला । कसैलाई भन्न सकिनँ ।”
न्याय पाउने आशा मारिसकेको र लड्ने हिम्मत नभएको बताए पनि दोषीले सजाय पाउनुपर्ने र भविष्यमा अरू कसैमाथि यस्तो जघन्य अपराध नहोस् भन्ने उद्देश्यले ढिलै भए पनि सत्य बाहिर ल्याएको उनले स्पष्ट पारेकी छन् । अन्त्यमा उनले अभिनेता लम्साललाई मेन्सन गर्दै गम्भीर प्रश्न गरेकी छन्, “कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ सागर लम्साल क्षेत्री ?” यस गम्भीर आरोपको विषयमा अभिनेता सागर लम्साल ‘बले’ को तर्फबाट भने हालसम्म कुनै आधिकारिक भनाइ वा स्पष्टीकरण सार्वजनिक भएको छैन ।














Discussion about this post